मल्चिङ
प्रविधिबाट रोपिएको अकबरे खुर्सानी । तस्बिर : कुम्भराज राई/कान्तिपुर
आश्विन १, २०७४-सिद्धिचरण नगरपालिका ५, ज्यामिरेका ३० वर्षीय तेजनारायण
श्रेष्ठले खुर्सानी खेतीबाट मासिक १ लाख ६० हजार
रुपैयाँ कमाइरहेका छन् । उनले मल्चिङ प्रविधिबाट अकबरे खुर्सानीको खेती गरेका हुन् ।
‘सातामा ४० हजारको बिक्री हुन्छ,’ उनले भने, ‘प्रतिकेजी २ सयले सदरमुकाममै बेच्छु । सातामा २ सय केजीसम्म बेच्छु ।’ मल्चिङ प्रविधिबाट व्यावसायिक खेती
थाल्ने उनी जिल्लाकै पहिलो हुन् । उनले
खुर्सानी सँगै रायो, बोडी, आलु, टमाटर, भेडे खुर्सानीमा पनि यो प्रविधिको
अभ्यास गरिसकेका छन् ।
माटोको डयाङ
बनाएर मल्चिङ प्लास्टिकभित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल मानिन्छ । खुला
प्रविधिभन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकाले सजिलो
भएको उनी बताउँछन् । श्रेष्ठका अनुसार मल्चिङ प्लास्टिकका कारण फेदमा धेरै झार नउम्रिने, गोडमेल गर्नु नपर्ने भएकाले यो प्रविधि सजिलो भएको छ ।
उनले ११ रोपनीमा १३ सय बोट स्थानीय अकबरेको बेर्ना रोपेको थिए । त्यसमध्ये ९ रोपनी जतिमा १२
सय बोटले उत्पादन दिएको छ ।
पाकेर रातो भएको खुर्सानी मात्र उनले टिपेर बिक्री गर्छन् । परिश्रमबाहेक नगद २ लाख लगानीबाट सुरु
गरिएको खेतीबाट उत्पादन भएको ३ महिनामै लगानी उठेको श्रेष्ठले बताए ।
रोजगारीका लागि
दुईपटक कतार र एकपटक मलेसिया गरी ७ वर्ष विदेश बिताएका उनले घर फर्केर व्यावसायिक
खेती थालेका हुन् । उनलाई अहिले बाबुआमा, भाइबहिनीले पनि सघाइरहेका छन् । खेतीमा भाइ र उनी दैनिक
६ घण्टा खटिन्छन् । वर्षामा आकाशे पानी संकलन
गरी सिँचाइको व्यवस्था मिलाएका छन् । हिउँदमा पिउने पानीसमेत अभाव हुने ज्यामिरेमा गाडीबाट
ड्रममा पानी बोकेर सिँचाइ गर्छन्
। उनका बाबुआमाले पहिले यही जमिनमा कोदो र मकै लगाउँथे । ‘नगदका लागि बुबाले काठको काम गर्न
हिँड्नुपथ्र्यो । तर अहिले त्यो समस्या समाधान भएको छ, उनले भने, ‘परम्परागत खेतीसँग त अहिलेको आम्दानी तुलनै गर्न सकिन्न । अब विदेश नजाने निधो गरेको
छु ।’
उनलाई यो
प्रविधि कसैले सिकाएको होइन । इन्टरनेटकै माध्यमबाट कोरिया, जापानमा मल्चिङ खेती हेरेरै सुरु गरेका हुन् । सुरुमा
गाउँले मात्र नभएर बाबुआमाले समेत उनलाई गाली गरेका
थिए । तर उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरे । एउटा खुर्सानीको बोटले २ वर्षसम्म
उत्पादन दिने भएकाले अन्य खेती यही
प्रविधिबाट लगाउने उनले तयारी थालेका छन् । उनले कान्छो भाइलाई कृषि जेटीए पढाइरहेका छन् ।
कसैको सहयोगबिना व्यक्तिगत पहलमा खेती थालेका श्रेष्ठ परिवारलाई अहिले विभिन्न संघ–संस्था र जिल्ला कृषिले समेत प्रोत्साहन दिइरहेको छ ।
Comments
Post a Comment